धुलाबारी ।
पासाङ ल्हामु ब्याडमिन्टन क्लब मेचीनगर–१० धुलाबारीको आयोजनामा जारी दोस्रो नगरस्तरीय ‘ए’ तथा ‘बी’ लेबल मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
धुलाबारीस्थित टाउन हलमा आज सम्पन्न फाइनल खेलमा ‘ए’ क्याटेगोरीतर्फ आयोजक पासाङ ल्हामु ब्याडमिन्टन क्लब तथा ‘बी’ क्याटेगोरीतर्फ चारआली आर्मी क्याम्पको समूह प्रथम भएको छ । आयोजकको तर्फबाट विष्णु कुमार तामाङ र प्रविन लिम्बूको जोडीले उपाधि जितेको हो । प्रथम भएसँगै उसले नगद ११ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका सचिव युवराज चुडालले जानकारी दिए ।
फाइनल खेलमा आयोजकले मनिष राउत र अमृत चौलागाईको जोडी रहेको अँधेरी ब्याडमिन्टन क्लवलाई पराजित गरेको हो । अँधेरीले दोस्रो स्थानमा चित्त बुझाउँदै नगद ८ हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र पाएको छ । यस्तै, प्रकाश श्रेष्ठ तथा कलम बहादुर थापाको जोडीले ‘बी’ क्याटेगोरीतर्फको उपाधि हात पारेको छ । उपाधिसँगै उसले नगद ८ हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ ।
चारआली ब्यारेकको जोडीले अँधेरी ब्याडमिन्टन क्लबका अनन्त ढुंगाना र पेन्टङ थामीको जोडीलाई पराजित गरेको छ । अँधेरीले उपविजेता बन्दै नगद ५ हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र पाएको छ । क्लबका अध्यक्ष कमल कुमार राउतको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा विजेता तथा उपविजेता समूहलाई पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा सहभागी सबै समूहका खेलाडीलाई मायाको चिनोसमेत वितरण गरिएको थियो ।
आयोजक क्लबका सचिव युवराज चुडालले सञ्चालन गरेको कार्यक्रममा स्वागत छविलाल खतिवडाले गरेका थिए । हिजो प्रतियोगिताको उद्घाटन वडा नं १० का वडाध्यक्ष नारायण खनालले गरेका थिए ।
जेठ ९ र १० गते सम्पन्न प्रतियोगितामा नगर खेलकुद विकास समितिको मुख्य प्रायोजन तथा वडा नम्बर ९, १० र १५ को सहप्रायोजन रहेको थियो । सहयोगी संस्थाका रूपमा राष्ट्रिय वाणिज्य बैंक धुलाबारी शाखा, नेपाल बैंक धुलाबारी शाखा, ग्लोबल आईएमई बैंक लिमिटेड धुलाबारी शाखा, उद्देश्य निर्माण सेवा, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष आनन्द खड्का तथा भेषराज कोइराला रहेका थिए ।
‘खेल खेलौँ, स्वस्थ बनौँ’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा सिनियर तथा जुनियरतर्फ प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा ‘ए’ समूहमा १८ टोली तथा ‘बी’ समूहमा २९ टोली सहभागी रहेका थिए । पासाङ ल्हामु ब्याडमिन्टन क्लबले गत वर्ष पहिलो नगरस्तरीय प्रतियोगिता आयोजना गरेको थियो । क्लबमा हाल ३२ जना सदस्य आबद्ध रहेका छन् भने दैनिक ४० भन्दा बढी खेलाडीले नियमित अभ्यास गर्दै आएका छन् ।


















