काठमाडौंको माइतीघर मण्डलामा मिति २०८३ जेठ २४ गते सिभिक्स इनोभेसन स्पेसद्वारा प्रस्तुत गरिएको नाटक कार्यक्रम केवल मनोरञ्जनको माध्यम मात्र थिएन, बरु वर्तमान शिक्षा प्रणाली, युवाको रोजगारी र आर्थिक आत्मनिर्भरतासम्बन्धी महत्वपूर्ण सन्देश बोकेको जनचेतनामूलक अभियान थियो।
उक्त नाटकले विशेषगरी seed money” र “seed Economy ” को अवधारणालाई स्थापित गर्ने प्रयास गरेको थियो। विद्यार्थीहरू केवल सैद्धान्तिक शिक्षामा सीमित नहुने, बरु अध्ययनसँगै अंशकालीन (Part-time) रोजगारीमा संलग्न हुन पाउने वातावरण निर्माण गरिनुपर्छ भन्ने सन्देश नाटकको मुख्य विषयवस्तु थियो। यसले विद्यार्थीलाई आत्मनिर्भर बनाउने मात्र होइन, उनीहरूको आर्थिक आवश्यकता पूरा गर्न तथा व्यवहारिक सीप विकास गर्न समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
नाटकमार्फत सरकारले व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइएको थियो। पछिल्लो समय व्यावसायिक तथा प्राविधिक शिक्षासँग सम्बन्धित केही विषयहरूलाई कमजोर बनाउने वा हटाउने प्रवृत्तिले विद्यार्थीलाई श्रम र सीपबाट टाढा लैजाने खतरा रहेको सन्देश पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो। शिक्षाले केवल प्रमाणपत्र उत्पादन गर्ने होइन, विद्यार्थीलाई जीवन र पेशासँग जोड्ने माध्यम बन्नुपर्छ भन्ने विचार नाटकले प्रभावकारी ढंगले प्रस्तुत गर्यो।
कार्यक्रममा सिभिक्स इनोभेसन स्पेसका उपसभापति चेतन गौतम ले नेपालका युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए। उनले युवाहरू बाध्यतावश विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सरकारले प्रभावकारी नीति, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनमा जोड दिनुपर्ने बताए। साथै, आगामी बजेट तथा सरकारी कार्यक्रमहरूमा युवामैत्री योजना, सीप विकास, नवप्रवर्तन र रोजगारका विषयलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।
आज नेपालले भोगिरहेको सबैभन्दा ठूलो चुनौतीमध्ये एक युवा पलायन हो। यदि शिक्षा प्रणालीलाई श्रम, सीप, उद्यमशीलता र रोजगारीसँग जोड्न सकियो भने मात्र युवाहरूले आफ्नो भविष्य नेपालमै देख्नेछन्। त्यसैले सिभिक्स इनोभेसन स्पेसद्वारा प्रस्तुत यो नाटक केवल सांस्कृतिक कार्यक्रम नभई नीति निर्माताहरूका लागि एउटा सशक्त सन्देश र समाजका लागि गम्भीर बहसको विषय बनेको छ।
युवालाई अवसर, शिक्षालाई व्यवहारिकता र राष्ट्रलाई उत्पादनशील जनशक्ति आवश्यक छ। यही सन्देशलाई आत्मसात् गर्दै राज्यले शिक्षा, रोजगार र आर्थिक नीतिमा आवश्यक सुधार गर्न सके मात्र समृद्ध नेपालको आधार बलियो बन्न सक्छ भन्ने अवधारणा उक्त नाटकको मुख्य सन्देश रहेको थियो ।


















