झापा ।
व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारीमा सिन्डिकेटको त्रास हटाउन युवा, श्रम तथा रोजगार मन्त्रालयले चालेको कदम सराहनीय रहेको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै मलेसिया सिन्डिकेट सम्बन्धमा मन्त्रालयले तदारुकताका साथ चासो देखाएको साथै सेवा शुल्क परिमार्जनलगायतका विषयमा पनि सोही स्तरको चासो देखाएको छ ।
संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले मलेसियाको रोजगारी औपचारिक रूपमा खुला हुने अवस्थामा सिन्डिकेटको चर्चाले आम व्यवसायीमा एकसाथ आक्रोश र निराशा पैदा भएका बेला मन्त्रालयबाट आएको विज्ञप्तिले संघसहित विभिन्न घटक संस्था र सरोकारवाला पक्षको चासो समयमै सुनुवाइ भएको देखिएको बताए ।
त्यस्तै, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हित, सुरक्षा र मर्यादित श्रमका लागि सरकारले देखाएको चासो र प्रतिबद्धता सकारात्मक रहेको जनाएको छ ।
एसोसिएसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामा र महासचिव सुमनराज पाण्डेद्वारा जारी सन्देशमा वैदेशिक रोजगार व्यवसायलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र श्रमिकमैत्री बनाउने दिशामा मन्त्रालयले चालेको कदम स्वागत योग्य रहेको उल्लेख छ ।

















