- बासु दुलाल
नेपालको कम्युनिस्ट आन्दोलन लामो संघर्ष, त्याग, बलिदान, विभाजन, एकता र आत्मसमीक्षाको यात्राबाट अघि बढेको आन्दोलन हो । इतिहासले पटक–पटक सिकाएको एउटा सत्य के हो भने कम्युनिस्ट आन्दोलन तब मात्र बलियो हुन्छ, जब त्यो जनताको विश्वास, कार्यकर्ताको सम्मान र सही वैचारिक दिशामा उभिएको हुन्छ । आज विभिन्न वामपन्थी शक्तिहरू—नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) लगायतका क्रान्तिकारी धाराहरूको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टी नयाँ आशा, नयाँ जिम्मेवारी र नयाँ संकल्पका साथ जनताको बीचमा पुगेको छ । झापा जिल्लामा जिल्ला एकता बैठक सम्पन्न भइसकेपछि अहिले १५ वटै पालिकामा सञ्चालन भइरहेको एकता अभियान त्यसैको महत्वपूर्ण कडी हो । यस अभियानमा सहभागी हुँदै गाउँ–टोल, नेता–कार्यकर्ता र आम जनतासँग प्रत्यक्ष भेटघाट गर्ने अवसरले मलाई धेरै आशावादी बनाएको छ ।
झापा कुनै साधारण जिल्ला होइन। यो नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक, राजनीतिक र ऐतिहासिक उर्वर भूमि हो । यही भूमिबाट उठेको विद्रोही चेतनाले नेपालको वाम आन्दोलनलाई नयाँ दिशा दिएको थियो । त्यसैले झापाको संगठनात्मक पुनर्जागरण केवल जिल्लाको विषय होइन, सम्पूर्ण नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यसँग जोडिएको विषय हो । यदि झापाले पुनः आफ्नो क्रान्तिकारी ऊर्जा, जनसम्बन्ध र संगठनात्मक सुदृढता हासिल गर्न सक्छ भने त्यसको सकारात्मक प्रभाव राष्ट्रिय राजनीतिमा समेत अवश्य पर्नेछ ।
वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिले जनतामा मिश्रित भावना पैदा गरेको छ । परिवर्तनप्रति ठूलो अपेक्षा बोकेका नागरिकले व्यवहारमा अपेक्षित परिणाम नदेख्दा निराशा र असन्तुष्टि व्यक्त गरिरहेका छन् । यस्तो अवस्थामा जनताको बीचमा विश्वासको राजनीति निर्माण गर्नु आजको सबैभन्दा ठूलो चुनौती हो । विश्वास नाराले होइन, व्यवहारले जितिन्छ । भाषणले होइन, कामले जितिन्छ । त्यसैले नेपाली कम्युनिस्ट पार्टी अहिले गाउँ–गाउँ, टोल–टोल र जनताको घरदैलोमा पुगेर नयाँ सम्बन्ध निर्माण गर्ने अभियानमा जुटेको छ । केन्द्रीय नेतृत्व, प्रदेश नेतृत्व र जिल्ला नेतृत्व एकै उद्देश्यका साथ कार्यकर्ता र जनताको बीचमा पुगेको दृश्यले पार्टीभित्र नयाँ ऊर्जा र नयाँ सम्भावनाको संकेत दिएको छ ।
हालसम्म सम्पन्न भएका पालिका एकता बैठकहरूले एउटा सकारात्मक सन्देश दिएका छन् । कार्यकर्तामा उत्साह छ, नयाँ सुरुवातप्रतिको विश्वास छ र पार्टीलाई बलियो बनाउने दृढ इच्छा छ । तर त्यससँगै विगतका केही तीतो अनुभूतिहरू पनि खुलेर व्यक्त भएका छन् । धेरै साथीहरूले गुटगत मानसिकता, पक्षपातपूर्ण व्यवहार, अवसरको असमान वितरण तथा कार्यकर्ताप्रति न्यायपूर्ण व्यवहार हुन नसकेको पीडा सुनाउनुभएको छ। यी गुनासा कुनै व्यक्तिविरुद्धका आरोप मात्र होइनन् । यी भविष्य सुधार्ने अवसर पनि हुन्। गल्ती स्वीकार गर्ने साहस नै सही नेतृत्वको पहिलो परिचय हो ।
हामीले अब विगतका कमजोरीलाई दोषारोपणको विषय होइन, आत्मसमीक्षाको विषय बनाउनुपर्छ । हिजो जसबाट जहाँ जे गल्ती भयो, त्यो इतिहासको हिस्सा बनिसकेको छ । अब त्यसलाई दोहोरिन नदिने दृढ प्रतिबद्धता नै हाम्रो राजनीतिक संस्कार बन्नुपर्छ । कुनैपनि कार्यकर्तामाथि उसले कुन नेता वा धारालाई समर्थन गरेको आधारमा अन्याय हुनु हुँदैन । पार्टीमा अवसर, जिम्मेवारी र मूल्याङ्कनको आधार निष्ठा, क्षमता, योगदान र जनविश्वास हुनुपर्छ। यही संस्कृतिले मात्र पार्टीभित्रको विश्वासलाई बलियो बनाउँछ ।
कम्युनिस्ट पार्टी कुनै व्यक्तिको निजी संस्था होइन। यो सीमित नेताहरूको स्वामित्वमा रहने संरचना पनि होइन । यो सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, श्रमिक, किसान, युवा, महिला, उत्पीडित समुदाय र परिवर्तनका पक्षमा उभिएका सम्पूर्ण जनताको साझा राजनीतिक घर हो । त्यसैले पार्टीभित्र लोकतान्त्रिक संस्कार, पारदर्शिता, अनुशासन र सामूहिक नेतृत्वको अभ्यासलाई व्यवहारमै स्थापित गर्नुपर्छ ।
यस अभियानबाट मैले सबैभन्दा ठूलो आवश्यकता नेतृत्वको रूपान्तरण भएको महसुस गरेको छु । कार्यशैली बदल्नुपर्छ, जनशैली बदल्नुपर्छ र जीवनशैली पनि बदल्नुपर्छ । जनता अब केवल भाषण सुन्न चाहँदैनन्; उनीहरू नेतृत्वको व्यवहार हेर्न चाहन्छन् । कार्यकर्ता अब केवल निर्देशन सुन्न चाहँदैनन्; उनीहरू सम्मान र विश्वास चाहन्छन् । त्यसैले हाम्रो नेतृत्व जनतासँग सहज, कार्यकर्ताप्रति न्यायपूर्ण र आफ्नो जीवनमा अनुशासित हुनुपर्छ । कम्युनिस्टको पहिचान उसको भाषणभन्दा बढी उसको आचरणले गर्छ ।
हामीले पहिलो चरणमा कार्यकर्तामा उत्साह जगाउने, निराशालाई आशामा बदल्ने र संगठनप्रति विश्वास निर्माण गर्ने कामलाई प्राथमिकता दिनुपर्छ। यो अभियान लामा भाषणको होइन, आत्मीय संवादको अभियान हुनुपर्छ। पार्टीको नीति, कार्यक्रम र विचारलाई सरल भाषामा जनतासम्म पु¥याउने, उनीहरूको गुनासा सुन्ने र समाधानको प्रतिबद्धता गर्ने संस्कार विकास गर्नुपर्छ ।
यससँगै हाम्रो अभियान बैठकमा मात्र सीमित हुनु हुँदैन । हामी शहीद परिवार, बेपत्ता परिवार, घाइते योद्धा, जनयुद्धमा सहभागी जनमुक्ति सेनाका पूर्वयोद्धा तथा द्वन्द्वबाट प्रभावित परिवारको घरदैलोमा पुग्नुपर्छ । उनीहरूको दुःख–सुखमा सहभागी हुनुपर्छ । उनीहरूलाई सम्मान गर्नु केवल औपचारिक कार्यक्रम होइन, आन्दोलनप्रतिको नैतिक जिम्मेवारी हो । जसको त्याग र बलिदानले आन्दोलनलाई यहाँसम्म ल्यायो, उनीहरूलाई बिर्सेर कुनै पनि कम्युनिस्ट आन्दोलन बलियो बन्न सक्दैन ।
त्यसैगरी युवासँग नयाँ ढङ्गले संवाद गर्नु आजको आवश्यकता हो। आजको युवा रोजगारी, शिक्षा, सीप, प्रविधि, उद्यम, सुशासन र अवसरको खोजीमा छ । उनीहरूलाई केवल विगतका संघर्षका कथाले मात्र आकर्षित गर्न सकिँदैन। उनीहरूका सपना, प्रश्न र आकांक्षालाई केन्द्रमा राखेर अन्तरक्रिया, परामर्श, प्रशिक्षण र सहभागितामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । युवालाई जिम्मेवारी दिने, निर्णय प्रक्रियामा सहभागी गराउने र नेतृत्व विकासको अवसर उपलब्ध गराउने संस्कृतिले मात्र पार्टीलाई भविष्यसँग जोड्न सक्छ ।
संगठन निर्माणमा अर्को महत्वपूर्ण पक्ष पुस्ताबीचको सन्तुलन हो। पुराना अनुभवीहरूको सम्मान, मध्यम पुस्ताको सक्रिय जिम्मेवारी र नयाँ पुस्ताको सिर्जनशील ऊर्जालाई एउटै सूत्रमा बाँध्न सक्यौँ भने पार्टी अझ बलियो हुनेछ । अनुभव, ऊर्जा र नवीन सोचको संयोजन नै सफल संगठन निर्माणको आधार हो ।
मलाई लाग्छ, अहिलेको एकता अभियान केवल संगठन विस्तारको कार्यक्रम होइन; यो आत्मविश्वास पुनर्निर्माण गर्ने अभियान हो। पहिलो चरणमा विश्वास निर्माण हुनेछ । त्यसपछि वैचारिक प्रशिक्षण, सदस्यता व्यवस्थापन, संगठन सुदृढीकरण, वडा, पालिका, जिल्ला हुँदै लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गर्दै दोस्रो र तेस्रो चरणमा प्रवेश गर्न सकिन्छ । यही प्रक्रियाले पार्टीलाई संस्थागत, अनुशासित र जनमुखी बनाउनेछ ।
झापाको इतिहासले हामीलाई संघर्ष सिकाएको छ। वर्तमानले हामीलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ । अब भविष्यले हामीसँग परिणाम मागिरहेको छ । यदि हामी सबैले व्यक्तिगत आग्रहभन्दा पार्टीको हितलाई माथि राख्यौँ, गुटभन्दा संगठनलाई प्राथमिकता दियौँ, भाषणभन्दा व्यवहारलाई महत्व दियौँ र जनताप्रति उत्तरदायी बन्न सक्यौँ भने झापा फेरि एकपटक नेपाली कम्युनिस्ट आन्दोलनको अग्रणी केन्द्र बन्नेछ । जनताले पुनः विश्वास गर्नेछन्, युवाले पुनः आशा गर्नेछन् र कार्यकर्ताले पुनः गर्वका साथ भन्न सक्नेछन्—यो पार्टी साँच्चिकै हाम्रो पार्टी हो ।
आज हामीले कसैलाई दोष दिएर होइन, आफूलाई सुधारेर अघि बढ्नुपर्छ । एकता केवल घोषणामा होइन, व्यवहारमा देखिनुपर्छ । प्रतिबद्धता केवल मञ्चमा होइन, जनताको जीवनमा अनुभूत हुनुपर्छ । यही बाटो समात्न सक्यौँ भने नेपाली कम्युनिस्ट पार्टी झापाको मात्र होइन, समग्र नेपालको प्रगतिशील राजनीतिको भरोसायोग्य शक्ति बन्नेछ । यही मेरो अनुभूति हो, यही मेरो विश्वास हो र यही हाम्रो साझा अभियानको मूल लक्ष्य पनि हो ।
लेखक नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य तथा झापा जिल्ला सह–इन्चार्ज हुन् ।


















