झापा । 

अस्पतालको फोहर कनकाई नगरपालिकाको विरीङ नदीमा भेटिएको विषयमा अस्पतालका सञ्चालक तथा व्यवस्थापकहरुले त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको फोहर व्यवस्थापन सम्बन्धी छलफलमा सहभागी अस्पतालका प्रतिनिधिले अबका दिनमा त्यस्तो गल्ति नगर्ने प्रतिबद्धता जनाएका हुन् । 

प्रशासन कार्यालयमा जिल्लाका विभिन्न अस्पतालबाट उत्सर्जन भएको फोहरमैला व्यवस्थापनका सम्बन्धमा छलफल भएको थियो । झापाका सबै अस्पतालले फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार फोहर व्यवस्थापन गर्ने, स्थानीय तहबाट स्वीकृत लिएर स्वास्थ्य संस्थाले कानून अनुसार फोहर व्यवस्थापन भए नभएको अनुगमन गर्न स्थानीय तहलाई अनुरोध समेत गर्ने निर्णय भएको छ ।

बिर्तामोडका अस्पतालबाट फोहर उठाउने ठेक्का लिएर सन्तोष मल्लिकले मासिक लाखांै उठाउँदै आएको बुझिएको छ । मनमोहन अस्पतालले मात्र उनलाई मासिक ५० हजार फोहर फाल्नका लागि दिने गरेको बताइएको छ । अस्पतालबाट रकम असुलेर फोहर फाल्ने ठेक्का पाएका मल्लिकले सार्वजनिकस्थलमा मानव स्वास्थ्य र वातावरणलाई प्रत्यक्ष असर पर्ने गरी फोहर फाल्दै आएका छन् ।

कनकाई नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने बिरीङ नदीमा अस्पतालबाट निस्कने फोहोर राखिएका प्लास्टिकका पोका नदीमा यत्रतत्र तैरिरहेको अवस्थामा सोमबार भेटिएको थियो । खोलामा हस्पिटलमा प्रयोग भएका सिरिन्ज, ग्लोभ, रगत लागेका कपडा, बिरामीले प्रयोग गरेका स्लाइन पाइप, सिसाका बोतल, प्याड लगायतका घातक फोहोर राखिएका प्लास्टिकका पोका छरपष्ट रुपमा भेटिएका थिए ।