अर्जुनधारा ।  

अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  झापाको अर्जुनधारा नगरपालिका –८ को संस्थाले शनिवार साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष प्रत्यूष आजाद रानाको अध्यक्षता र अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्य साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, माओवादीका नारद दुःखी, ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडा, एमालेबाट एकदेव खनाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले साधारणसभाको कार्यक्रमप्रति सकारात्मक सुझाव दिदै किसानको हितमा अगाडि बढ्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा स्वागत सदस्य देवकला प्रसाईँले गरेकी थिइन् । ८ सय ६२ जना शेयर सदस्य रहेका संस्थाका शेयर पूँजी ३४ लाख २९ हजार ८ सय रहेको संस्थाका अध्यक्ष रानाले प्रस्तुत गरेको प्रतिवेदनमा छ । 

अध्यक्ष रानाद्धारा प्रस्तुत प्रतिवेदन अनुसार शेयर सदस्यका लागि सहकारी तथा अगुवा कृषकका लागि अभिभुखिकरण तालिम, धानको मूल तथा उन्नत बिउँ, बिजन खरिद र वितरण, वडा इकाई स्तरमा तदर्थ समिति गठन र परिचालन, पकेट कार्यक्रम सञ्चालन, पशुपन्छी बिमा कार्यक्रम, कृषि प्राविधिक सेवा तथा वाली संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ । 

त्यसैगरी संस्था सञ्चालन गर्न आवश्यक पर्ने कार्यविधिको निर्माण, कृषि उपकरणको खरिद र व्यवस्थापन, कृषि उत्पादन वृद्धिका लागि आवश्यक पर्ने मल खादको व्यवस्थापन, निक्षेप संकलन तथा शेयर सदस्य विस्तारको लागि कर्मचारी परिचालनलगायतको कार्यक्रम सञ्चालन गरेको छ ।

गत आर्थिक वर्षको आम्दानी ६० लाख १४ हजार एक सय ८६ रुपैयाँ छ पैसा रहेको छ । अर्जुनधारा कृषि क्षेत्रको उर्भर भूमिसँगै जलाशय भएको पनि नगर भएकाले संस्थागत ढंगबाट कृषिमा लगानी गर्न सके कृषकहरूको स्तरोन्नतिसँगै कृषिमा औद्योगिककरणको विकास हुने उनको भनाइ थियो । उपाध्यक्ष छत्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा लेखा समितिका संयोजक विनोद आचार्यले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।