बिर्तामोड ।  

झापाको बिर्तामोड नगरपालिकाको आयोजनामा  बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम शुरु भएको छ । बिर्ताबजारमा हिजोदेखि तालिम शुरु भएको हो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी हुन् । 

 तालिममा बिर्तामोड नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाहरुबाट ६० जना सहभागी छन् । बिर्तामोडमा प्रदेश मातहतका ९२ र नगरपालिका मातहतका ३४ वटा सहकारी सञ्चालनमा रहेको सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिए ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले सहकारीमा देखिएका समस्याहरुलाई हल गर्दै व्यवस्थित गरेर लैजानु पर्ने बताइन् । सहकारीलाई थप बलियो बनाउने विषयमा तालिम महत्वपूर्ण रहेकाले राम्रो सिक्न सहभागीहरुलाई उनले आग्रह गरिन् । 

कार्यक्रम सामाजिक विकास शाखाकी संयोजक, कार्यपालिका सदस्य यामुना आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । तालिममा नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहाल र सूचना प्रविधि अधिकृत जयराम चौलागाईले प्रशिक्षण प्रदान गरेका छन् । बिर्तामोड नगरपालिकाले सहकारीका विभिन्न विषयमा तालिम तथा कार्यक्रमहरु प्रदान गर्दै आएको छ ।