• उद्धव पुरी 

लक्ष्मीपुर । 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले झापाको बिर्तामोड–२ को सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सिङ्गो राष्ट्रले गर्व गर्न लायक सहकारी भएको बताएका छन् । 

मन्त्री गिरीले देशमा मात्र नभएर विदेशमा पनि सहारा नेपाल साकोस प्रेरणाको स्रोतको रुपमा रहेको बताउँदै सहकारीमा सहारा साकोस विश्व बिद्यालय भएको बताएका छन् । उनले पैसा लगानी गर्ने र अरबौं कमाउने भन्दा पनि सामाजिक उत्तरदायित्व अन्तरगत सदस्यलाई स्वास्थ्य, शिक्षा, विपन्नलाई घर र कृषकलाई कृषिमा राज्यले पनि गर्न नसकेको कार्य गरेको बताएका छन् । ‘साहेद राज्यले पनि सहारा नेपाल सकोस जती कार्य गर्न सकेको छैन होला’ मन्त्री गिरीले भने ‘भाषणमा मात्र समृद्ध नेपाल सुखी नेपाली होइन, समृद्ध नेपाल सुखी नेपालीको नारालाई ब्यहारमा रुपान्तरण गर्न सहारा नेपाल साकोसका अभियन्ताहरु लागिरहेका छन् ।’ 

सहारा नेपाल साकोसले सोमवार (आज) कनकाईस्थित जामुनवारी सिमसारमा आयोजना गरेको संस्थाको १० औं बिस्तारित भेला तथा आगामी कार्यदिशा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री गिरीले नेपालका ३ करोड जनतालाई स्वास्थ्यमा हामी अब्बल छौं भन्ने भावना जागृत गर्ने गरी कार्य गर्ने योजना अगाडि सारेको बताएका छन् । उनले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले आफु स्वास्थ्यमन्त्री बनेको बताउँदै ठूला–ठूला राजनीतक भाषण गर्ने भन्दा पनि नागरिकको स्वास्थ्यमा काम गर्ने बताएका छन् । 

sahara sakkk

संस्था अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको आगामी १० बर्षे रणनीतिक योजना संस्थाका सचिव महेन्द्रकुमार गिरीले प्रस्तुत गरेका थिए । सचिव गिरीले हालको संस्थाको समग्र बित्तिय अवस्था, मिशन ०८८, सदस्य सुनौ, सदस्य बुझौ अभियान, कोष तथा तरलता ब्यवस्थापन, सदस्यलाई फ्लेसिलोन, आन्तरिक स्रोतबृद्धिको लागि बचतमा प्राथमिकता, उर्जा क्षेत्र सहयोग कार्यक्रम, उद्यमशीलता विकास र रोजगारी सिर्जना, सदस्यहरुको स्वास्थ्य सेवामा पहुँच, पालिका तथा प्रदेश सरकारसँग सहकार्य, कृषि तथा पशु ब्यवसाय प्रवर्धन, बहस तथा पैरवी, जेष्ठ सदस्यको सम्मान, सामाजिक सुरक्षा योजना, सदस्यहरुका लागि अध्ययन अवलोकन भ्रमण, संहकारी संस्थाहरुसँग एकीकरणलगायतका बिषयमा आगामी रणनीति जानकारी गराएका थिए । 

संस्थाका सचिब गिरीले प्रस्तुत गरेको चालु बर्ष पौष महिना सम्मको समग्र बित्तिय अवस्था अनुसार संस्थाको शेयरपुँजी १ अर्व, ६३ करोड, ४९ लाख ८४ हजार ४०० रुपैयाँ, बचत  १० अर्व ५३ करोड २७ लाख २९ हजार १३ रुपैयाँ ५८ पैसा, बाह्य ऋण १ अर्व १६ करोड ७३ लाख ११ हजार ५८० रुपैयाँ २६ पैसा, जगेडा कोष १ अर्व ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ, अन्य कोषहरु १५ करोड ७७ लाख ५१ हजार ४५२ रुपैयाँ ६४ पैसा, अन्य दायित्व २७ करोड ८४ लाख ९३ हजार ८८६ रुपैयाँ ४७ पैसा, कार्यक्रम कोष ४२ करोड ५९ लाख ७४ हजार १८२ रुपैयाँ २ पैसा र नाफा २६ करोड ५१ लाख ७६ हजार ८७२ रुपैयाँ ७७ पैसा छ । 

स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष हरि निरौलाले गरेको कार्यक्रममा प्रदेश नं. १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, राष्ट्रिय सहकारी महासंघ नेपाल अध्यक्ष मीनराज कँडेल,  कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्याक्रमकाबिच मन्त्री गिरी र प्रदेश १ मन्त्री सिटौलालाई संस्थाले सम्मान गरेको थियो । त्यस्तै कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसहित प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।