बिर्तामोड । 

झापाको बिर्तामोडमा ‘हेल्थ टुरिजम  प्रमोशन प्रोग्राम’ हुने भएको छ । नेपाल टुरिजम बोर्डको आयोजनामा आगामी असार १६ गते बिर्तामोडस्थित आदर्श ब्याङ्व्केटमा ‘हेल्थ टुरिजम  प्रमोशन प्रोग्राम’ हुने भएको हो । 

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेश र होटल ब्यवसायी संघ झापाको सह–आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम हुने सोमवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । 

हेल्थ टुरिजम प्रमोशन प्रोग्राममा झापाका हस्पिटल, कोशी प्रदेशका ट्राभल, होटल, होमस्टे साथै पर्यटन ब्यवसायीहरुले आ–आफ्ना ब्यवसाय प्रवर्धनका सामाग्रीसहित स्टल राखेर सहभागीता जनाउने नाट्टा कोशी प्रदेश महासचिब नविन खरेलले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रमका लागि १२ वटा हस्पिटल, ८ वटा होटल, ६ वटा आँखा अस्पताल, ५ वटा दाँतका हस्पिटल, एउटा टुरिजम र एउटा हेल्थ कलेज सम्पर्कमा आइसकेका छन् । प्रोग्राममा स्टलहरुलाई निःशुल्क गरिएको बताइएको छ । 

स्वास्थ्य सेवा प्रदायक, विरामी र पर्यटन उद्योगलगायत विभिन्न सरोकारवालाहरुलाई फाइदा पुर्याउने उदेश्यले हेल्थ टुरिजम  प्रमोशन प्रोग्राम गरिएको नाट्टा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले बताए । उक्त कार्यक्रममा एकहजार ५ सय बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । पत्रकार सम्मेलनमा पर्यटन कार्यालय काँकरभिट्टाका सूचना अधिकृत नीज कट्टेल, होटल ब्यवसायी संघ झापाका महासचिब शिवराज पौडेललगायतको उपस्थिति रहेको थियो ।