मेचीनगर ।

विद्यालयले खेप्नुपरेको शुद्ध पिउनेपानीको अभावलाई मध्यनजर गर्दै रोटरी क्लब अफ काँकरभिट्टाले मेची जनसाधारण मा.वि. मेचीनगर २ मा शुद्ध पिउनेपानी आयोजना निर्माण गरी हस्तान्तरण गरेको छ । आज विद्यालय परिषरमा आयोजित एक कार्यक्रमका बिच रोटरीले उक्त आयोजना विद्यालयलाई हस्तान्तरण गरेको हो । 

करिब ३ महिना अघिदेखि रोटरीले मेचीनगर नगरपालिका वडा नं २ सँगको सहकार्यमा विद्यालयमा पिउनेपानी शुद्धिकरणका लागि संरचना निर्माण थालेको थियो ।

निर्माण सम्पन्न पश्चात रोट्रियर २०२३/२४ का अध्यक्ष इन्जिनियर रुद्र मैनालीले कार्यभार सम्हालेको पहिलो दिनको अवसरमा आज आयोजना विद्यालयलाई हस्तान्तरण गरिएको हो । अब भने यहाँका विद्यार्थीले युभी वाटर ट्रिटमेन्ट प्रणालीमार्फत शुद्ध भएको पानी पिउन पाउनेछन् भने विद्यार्थीहरुलाई सहजिकरणका निम्त्ति तीन ठाउँमा ९ वटा धारा जडान गरिएको छ ।

मेचीनगर भरीका सम्पूर्ण विद्यालयमा शुद्ध पिउनेपानीको उपलब्धतालाई अभियान बनाएर सक्रिय यस संस्थाले यसअघि पनि खानेपानीको क्षेत्रमा विभिन्न काम सम्पन्न गरिसकेको छ । मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न आयोजना हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र न्यौपाने, संस्थाका निवर्तमान अध्यक्ष सुजन प्रधान लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बौल्दै प्रमुख अतिथी बरालले विद्यालयमा शुद्ध पिउनेपानीको आयोजना निर्माण गरिदिएकोमा संस्थालाई धन्यवाद दिँदै सयौँ विद्यार्थी शुद्ध पिउनेपानीको पहुँचमा पुगेको बताए ।