बिर्तामोड । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मोरङको तेतरिया सेवाकेन्द्र अन्तरगत सदस्यको श्रीमानको मृत्युपछि ऋण मिनाह गरेको छ । 

कटहरि गाउँपालिका वडा न ७ स्थित करुणा सहारा महिला समूह नं. ४१ की सदस्य चन्द्रकला माझीका श्रीमान गोविन्दकुमार माझीको मृत्युपछि तीन लाख असी हजार रुपैयाँ कर्जा मिनाह गरेको हो । 

केही समय अगाडी श्रीमानको मृत्यु भएपछि सेवाकेन्द्रले एक कार्यक्रमको आयोजना गरी  संस्थाबाट सदस्यले कर्जा स्वरुप लिएको ३ लाख ८० हजार रुपैयाँ कर्जा मिनाह गरेको छ । साकोसका सेवाकेन्द्र प्रमुख एकादेव कट्टेलले सोमबार उक्त रकम बापतको चेक एकल महिला तथा समुहकी सदस्य माझीलाई हस्तान्तरण गरेका छन् । 

संस्थाको कर्जा सुरक्षण कार्यक्रम अन्तरगत सदस्य वा सदस्यको श्रीमानको मृत्युपछि  जति कर्जा लिएको छ सो सम्पूर्ण ऋण मिनाह गरिने गरेको छ । 

सेवाकेन्द्र प्रमुख कट्टेलले चेक प्रदान गर्दै सहारा नेपाल साच्चिकै बेसहाराको सहारा बनेको बताए । उनले यस प्रकारको सहयोगले संस्थाको उचाई अझै बढेको र संस्थाले सञ्चालन गरेको जीवन बरदान कार्यक्रममा सवै सदस्यलाई समावेश भए सम्पूर्ण स्वास्थ्य उपचार सहाराले गर्ने जानकारी समेत गराएका थिए ।