झापा ।

झापा रहेका सहकारीबाट ऋण लिएर नतिर्नेहरुलाई स्थानीय तहले कारवाही गर्ने भएको छ । ऋण लिएर समयमा नतिर्ने, पटक–पटक ताकेता गर्दा पनि ऋण नबुझाउने र सम्पर्कमा समेत नआउनेलाई पालिकाबाट पाउने सेवासुबिधाबाट बञ्चित गर्ने गरी कारवाही गरिने भएको हो । 

झापाको शिवसताक्षी नगरपालिकाले यस अघिनै सहकारीको ऋण तिर्न आग्रह गर्दै सूचना जारी गरिसकेको छ भने दमक नगरपालिका र गौरदह नगरपालिकाले पनि ऋण तिर्न आव्हान गर्दै सूचना जारी गरको छ । 

सहकारीबाट ऋण लिएर केही ब्यक्तिले ऋण नतिर्ने गरेका कारण पछिल्लो समय सहकारी क्षेत्रमा पनि गहिरो असर परेको भन्दै स्थानीय तहलाई सहजीकरण गरिदिन सहकारी कर्मीले आग्रह गरेका थिए । 

स्थानीय तहले सहकारीबाट लिएको ऋण समयमै तिर्न आग्रह गर्दै समयमा लिएको साँवा ब्याज भुक्तानी नगरे पालिकाबाट पाउने सेवासुबिधाबाट बञ्चित गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी दिदै दमक र गौरादह नगरले सार्वजनिक सूचना जारी गरेको छ । 

केही समुह र तत्वले सहकारीबाट लिएको ऋण नतिर्न उर्दी आव्हान गरेका कारण पनि ऋणिहरुले ऋण नतिरेर सहकारी धरासायी भन्दै गएको भन्दै झापा जिल्ला सहकारी संघले झापाका पालिकालाई समन्वय र सहजीकरण गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । जसमा शिवसताक्षीले ज्ञापनपत्र बुझाउनु अघिनै सूचना जारी गरेको थियो । 

  • स्थानीय तहको सूचनाप्रति विप्लव नेतृत्व पार्टीकोे गम्भिर ध्यानाकर्षण

यता वित्तिय क्षेत्रमा देखिएको समस्या समाधान गर्न स्थानीय तहले पहल गर्नु पर्नेमा उल्टै ऋणीको नाम सार्वजानिक गर्ने धम्की दिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गत असार १५ गते झापाको शिवसताक्षी नगरपालिकाले बित्तिय संस्था र सहकारीको ऋणीहरुलाई ऋण तिर्न, नतिरे नाम सार्वजानिक गर्ने र प्रचलित कानुन बमोजिम कार्वाही गर्ने भन्दै जारी गरेको सूचनाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ट पार्टी झापाका सेक्रेटरी संजय सीले बताए ।

सोमबार एक विज्ञप्ती जारी गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वित्तिय क्षेत्रमा देखा परेको संकट र सहकारी, बित्तिय संस्था र मिटर ब्याजीहरुहरुको आतंक र शोषणले जनताहरुको दैनिकी कस्टकर बनेको समय जनतालाई सहज र सरल रुपमा ऋण तिर्ने वातावरण चाहिएको उल्लेख गरेको छ ।

विप्लव माओवादीले जनताबिरुद्ध राज्यको जिम्मेवार निकाय पालिकाहरु नै लागेमा आफुहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिदै आएको छ ।