धुलावारी । 

शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि। ले एकजना ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको धुलावारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि कर्जा मिनाहा भएको हो । 

शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित वित्तिय कारोवार गर्दै आएका मेहताको गत फागुनमा पेट सम्वन्धी रोगका कारण मृत्यु भएको थियो । मेहताको मृत्युपछि उनले संस्थामा तिर्न बाँकी देखिएको एकलाख ३१ हजार एक सय ३९ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । 

कर्जा मिनाहासँगै मेहता परिवारलाई मृत्यु संस्कार राहतवापत १५ हजार रुपैयाँ प्रदान गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि। सदस्य सेवा केन्द्र धुलावारीकी प्रमुख विपना तिम्सिनाले बताइन् ।  सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति छ । यसअघि पनि शिक्षा बहुउद्देश्यीयले मृतक ऋणी सदस्यको कर्जा मिनाहा गरेको थियो । 

संस्थाले कर्जा मिनाहा गर्दै उक्त रकम मेहताकी श्रीमती मञ्जुदेवीलाई उपलब्ध गराएको छ । संस्थाका उपाध्यक्ष मिश्र, सचिव सूर्यकुमार खतिवडा र सञ्चालक सदस्य लक्ष्मीप्रसाद घिमिरेको उपस्थितिमा कर्जा मिनाहाको जानकारी पत्र दिइएको हो ।