मेचीनगर। 

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले सूचना नगरी आफ्ना सदस्याको खाताबाट रकम झिकेको खुलेको छ । संस्थामा रकम बचत गर्दा वा झिक्दा सदस्यलाई विभिन्न माध्यमबाट जानकारी दिनुपर्ने सहकारीको नियम छ । तर, सदस्य आफंैले खाताबाट ७ सय रुपैयाँ हराएपछि सदस्यले मोबाइलबाट कारोबारको विवरण हेर्दा ‘डेथ रिलिफ फ्यासिलिटी’ ‘राहत कोषमा सदस्यले दिने योगदान’ शीर्षकमा ७ सय रुपैयाँ झिकिएको पाइएको हो ।    

अरुबेला एसएमएस आउँथ्यो, आइतबार त आएन । जानकारी नै नदिई खाताबाट रकम झिकिएको भन्दै सदस्यहरुले आपति गरेका छन् । झापा मेचीनगर–१४ का डिल्लीराम उप्रेती खाताबाट पैसा हराएपछि आश्चर्यमा परे । आफ्नो खातामा रहेको रकम जाँच्ने गर्ने क्रममा ७ सय रुपैयाँ झिकेको पाएका उपे्रतीले संस्थाको शाखा कार्यालय चारआली सेवा केन्द्रमा बुझ्दा ‘माथीबाटै काटिएको’ भन्ने जवाफ पाएका थिए । 

‘सिस्टम अनुसार माथिबाटै काटिएको हो, विस्तृत हामीलाई पनि जानकारी छैन । हामीले पनि एकैचोटी रकम काटेको मात्रै थाहा पाएका हौँ,’ उप्रेतीले चारआली शाखाबाट पाएको जवाफ यसरी सुनाए । अहिले पनि उनी कुन प्रयोजनका लागि रकम काटियो भनेर अन्योलमा छन् ।

उप्रेती मात्रै होइन रकम हराएकोबारे अधिकांश सदस्यलाई जानकारी नै छैन । जसका कारण एनएमसीले रकम काटेको विषय सामाजिक संजालमा छाइरहेको छ, आलोचना पनि उत्तिकै भइरहेको छ । मेचीनगर ५ का निर्मल सुवेदी पनि सूचना नै नदिई रकम काटेको भन्दै आपति गरेका छन् । ‘आफ्नो खाताबाट रकम काट्दा सदस्यलाई थाहा हुनुपर्ने होइन रु किन थाहा दिइएन रु’ जानकारी नै नदिइ रकम काटेकोबारे उनी प्रश्न गर्छन् । मेचीनगर–६ कै एकजना युवाले समेत आफुलाई थाहा नै नदिई रकम काटेको र के प्रयोजनका लागि रकम काटियो भनेर कलेक्सनमा आउने कलेक्टरसमक्ष सोधपुछ गर्दा ‘मलाई नै थाहा छैन’ भन्ने जवाफ पाएको बताए ।

‘कलेक्टरलाई सोधेको थिएँ, उनले त मलाई नै थाहा छैन, मेरै खाताबाट काटिएको छ, भन्ने जवाफ पो दिइन्,’ उनले भने । प्रत्येक ग्राहकबाट यसरी रकम काट्दा ९–१० करोड रकम संस्थालाई प्राप्त हुने भएकाले उक्त रकम के मा खर्च हुन्छ रु कुन प्रयोजनका लागि प्रयोग गरिन्छ रु यसबारे सबैलाई जानकारी हुनुपर्ने तर, जानकारी नहुनु गम्भीर विषय रहेको उनको भनाई छ । सामाजिक संजाल मार्फत प्रश्न गर्दै आम सदस्यसँग प्रत्यक्ष जोडिएको विषयमा संस्थाले चाँडै जवाफ दिनुपर्ने मेचीनगरका ओम कार्कीले बताए । 

सो विषयमा संस्थाका कर्पोरेट प्रशासन विभाग प्रमुख चेतन शर्मा पौडेलले सदस्य भलाई कोषका लागि रकम काटिएको स्वीकारेका छन् । गतबर्षसम्म सदस्यको शेयर बोनसबाट काटिने गरेको बताउँदै यसपालि भने नीति परिमार्जन गरेर खाताबाट काट्न थालेको हो । सदस्यलाई जानकारी नै नभएको सम्बन्धमा भने उनले मोबाइल नेटवर्कमा समस्या भएर संस्थाले पठाएको ‘एसएमएस’ सदस्यसम्म नपुगेको स्वीकारेका छन् । ‘हामीले सबैलाई एसएमएस गरेर जानकारी दिएका हौँ, नेटवर्कका कारण सदस्यसम्म पुगिसकेको छैन । एसएमएस जाने क्रम चलिरहेको छ,’ उनले भने ।

‘सदस्यको मृत्यु लगायत अन्य विपद्मा सदस्यहरुकै लागि उक्त रकम खर्च हुन्छ । सदस्य इच्छुक नभए निवेदन लेखेर दिनुपर्छ, हामी रकम फिर्ता गरिदिन्छौँ,’ उनले भने । पैसा फिर्ता गर्नेका लागि पहिले त सदस्यले थाहा पाउनुपर्यो, सदस्यको ‘एसएमएस’ रोकेर रकम झिकेको सदस्यको आरोप छ । ‘एसएमएस’ नपाएपछि कसरी बुझ्ने एक सदस्यले भने, थाहा पाउनेले मात्रै अनिच्छुक हुँदा निवेदन गर्ने कुरा आयो । थाहै नपाउनेले कसरी निवेदन दिने रु उनको प्रश्न छ ।   

संस्थाको पछिल्लो अद्यावधिक विवरण अनुसार संस्थामा एक लाख ५२ हजार सदस्य रहेका छन् । हाल ८० हजार सदस्यको खातामा रकम रहेकाले कोषका लागि ७ सयका दरले रकम काटिएको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीको भनाई छ । आन्तरिक नीतिगत निर्णयअनुसार नै सदस्यको रकम काटिएको र सिस्टमले समस्या भएको उनको भनाई छ । सो रकमबाट सदस्यको मृत्युमा ५० हजार,  एकाघर परिवारमा सुध्याईं खर्चवाउत १० हजार लगायतका कार्यक्रम रहेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।