• प्रकाश उप्रेती 

मेचीनगर  ।

सदस्यको खाताबाट रकम कटौती गरी राहत कोष अर्थात सदस्य कल्याणकारी योजनाका लागि लिएको ७ सय रकम फिर्ता गर्ने भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड -एनएमसी_ प्रधान कार्यालयमा मंगलबार बसेको संस्थाको आकस्मिक वैठकले सदस्यको खाताबाट झिकेको रकम खातामै फिर्ता गर्ने भएको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले जानकारी दिए ।

सदस्य हितका लागि गरिएको योजना उनिहरुको गुनासो आएका कारण शब्दपत्र लगायतका मिडियामा आएको समाचारका कारण निर्णय स्थगन गरेको अध्यक्ष शिवाकोटीको भनाई छ । सूचना नगरी आफ्ना सदस्याको खाताबाट रकम झिकेको खुलेको भन्दै ब्यापक आलोचना भएको थियो ।

 खाताबाट ७ सय रुपैयाँ हराएपछि सदस्यले मोबाइलबाट कारोबारको विवरण हेर्दा ‘डेथ रिलिफ फ्यासिलिटी’ ‘राहत कोषमा सदस्यले दिने योगदान’ शीर्षकमा ७ सय रुपैयाँ झिकिएको पाइएको भन्दै सदस्यले गुनासो गरेका थिए ।

  • समाचार प्रभाव  

सस्थाले आइतबार ८० हजार सदस्यको ७ सयका दरले रकम झिकेको तर, अर्को दिन सोमबारमात्रै सदस्यलाई एसएमएस गरेको थियो । नीति परिमार्जन गरेर खाताबाट काट्न थालेको र मोबाइल नेटवर्कमा समस्या भएर संस्थाले पठाएको ‘एसएमएस’ सदस्यसम्म नपुगेको स्वीकारेका थिए ।

‘सदस्यको मृत्यु लगायत अन्य विपद्मा सदस्यहरुकै लागि उक्त रकम खर्च हुन्छ । सदस्य इच्छुक नभए निवेदन लेखेर दिनुपर्छ, हामी रकम फिर्ता गरिदिन्छौँ,’ उनले भने । 

पैसा फिर्ता गर्नेका लागि पहिले त सदस्यले थाहा पाउनुपर्यो, सदस्यको ‘एसएमएस’ रोकेर रकम झिकेको सदस्यको आरोप छ । ‘एसएमएस’ नपाएपछि कसरी बुझ्ने एक सदस्यले भने, थाहा पाउनेले मात्रै अनिच्छुक हुँदा निवेदन गर्ने कुरा आयो । थाहै नपाउनेले कसरी निवेदन दिने ? उनको प्रश्न छ ।   

संस्थाको पछिल्लो अद्यावधिक विवरण अनुसार संस्थामा एक लाख ५२ हजार सदस्य रहेका छन् । हाल ८० हजार सदस्यको खातामा रकम रहेकाले कोषका लागि ७ सयका दरले रकम काटिएको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीको भनाई छ । 

आन्तरिक नीतिगत निर्णयअनुसार नै सदस्यको रकम काटिएको र सिस्टमले समस्या भएको उनको भनाई छ । सो रकमबाट सदस्यको मृत्युमा ५० हजार,  एकाघर परिवारमा सुध्याईं खर्चवाउत १० हजार लगायतका कार्यक्रम रहेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।