बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले  आर्थिक बर्ष २०८०/०८१ को नगर विकास योजना पुस्तिका सार्वजनिकिरण गरेको छ । नगरले सोमवार (आज) बिर्तामोड नगरपालिकाको सभा हलमा नगरसभाको बिशेष अधिवेशनपछि पुस्तक सार्वजनिक गरेको हो । 

बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, वडाध्यक्षसहित जनप्रतिनिधिले पुस्तक सार्वजनिक गरेका थिए । 

नगरले सार्वजनिक गरेको नगर विकास योजना पुस्तकमा कृषि उत्पादन र बजारीकरणलाई प्रवर्धन गर्दै तरकारी र मासुमा आत्मनिर्भर हुने, सवै नगरबासीलाई सुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने, सवैका लागि गुणस्तरीय शिक्षा उपलब्ध गराउने, पूर्वाधारको विकास गर्दै सुन्दर हरियाली नगर निर्माण गर्ने र रोजगारको सिर्जना गरी आर्थिक विकासमा टेवा दिने बजेटको उदेश्य रहेको उल्लेख छ । 

सार्वजनिक भएको पुस्तकमा आर्थिक बर्ष २०८०/०८१ का लागि कुल आय व्ययको बजेट १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँ रहेको छ । 

उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदान १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँड १ करोड १९ लाख ७५ हजार रुपैयाँ छ । त्यसैगरी नगरको आन्तरिक आय र मालपोत रजिष्ट्रेशन शुल्क समेतबाट गरी जम्मा ३२ करोड प्राप्त हुने र संघीय सशर्त अनुदान चालुतर्फ २९ करोड ६ लाख तथा पुँजीगततर्फ ३६ करोड ७६ लाख, संघीय विशेष अनुदान २ करोड र समपूरक अनुदान ६५ लाख तथा प्रदेश सशर्त अनुदान ६२ लाख २५ हजार, समपूरक अनुदान १ करोड २९ लाख ५१ हजार बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण प्रस्ताव गरिएको छ । 

सोही कार्यक्रमका बिच नगरपालिकाले सेवा निवृत्त दुई जना कर्मचारीलाई सम्मानसहित बिदाई गरेको छ । सिनियर अनमी पवित्रा संग्रौला र कार्यालय सहयोगी दुर्गाप्रसाद बराललाई आज सम्मानसहित बिदाइ गरिएको हो ।