चारपाने । 

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले प्रत्येक २ बर्षमा बितरण गर्ने  ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ आगामी कार्तिक १८ गते वितरण गर्ने भएको छ । एक लाख एक हजार नगद राशिको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ यसपटक सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ ।

संस्थाले नेपाल बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्षसमेत रहेका भक्तपुरका प्रधानाङ्गलाई दिने  निर्णय गरेको साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए।

उक्त पुरस्कार साकोसको २७ औं साधारणसभाको अवसर पारेर आगामी कात्तिक १८ गते विर्तामोडमा वितरण गरिने भएको छ । उक्त पुरस्कारबाट यसअघि लघुवित्त विज्ञ शङ्करमान श्रेष्ठ र सहकारी अभियन्ता केशव बडाल सम्मानित भइसकेका छन् । 

विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मोहम्मद युनुस सहकारी पुरस्कारसमेत प्रदान गर्दै आएको छ । सहकारीको सदस्य भएर जीवनस्तरमा उल्लेखनीय परिवर्तन ल्याउनेलाई उक्त पुरस्कार प्रदान गरिँदै आएको छ ।

नेपालकै सवैभन्दा ठूलो सहकारीका रुपमा परिचित सहारा साकोसको गत असोज मसान्तसम्मको प्रतिवेदनअनुसार सदस्य संख्या एक लाख ५७ हजार ९२० रुपैयाँ पुगेको छ भने शेयर  पुँजी एक अर्ब ६५ करोड ५७ लाख ४५ हजार ९०० रुपैयाँ रहेको साकोसका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।