मेचीनगर ।

 झापाको मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरको महिला तथा बालबालिका शाखाको आयोजनामा बिहिबार भएको लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता सम्बन्धी वक्तृत्वकला प्रतियोगितामा प्राची कार्की प्रथम, योना गौतम दोस्रो र उसा निरौला तेस्रो भएका छन् । त्यस्तै प्रतियोगितामा सान्त्वना श्रेया रिमाल भइन् ।

प्रतियोगितामा मेचीनगर क्षेत्रमा रहेका १० वटा सामुदायिक मावि तहका विद्यालयबाट छात्राहरुको सहभागिता रहेको थियो । त्यस्तै निर्णायकको रुपमा शिक्षासेवी भुवन सुब्बा, सुभद्रा अर्याल र दामोदर ढुङ्गेल रहेका थिए । अभियानको दोस्रो चरणमा छात्राहरुलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता तथा अभिमूखिकरण कार्यक्रमको आयोजना गरेको हो ।