बिर्तामोड । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २३ औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणिकरण सम्पन्न गरेको छ । 

साकोसले बुधवार (आज) बिर्तामोडमा २४ औं बार्षिकोत्सव तथा २३ औं बार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण गरेको हो । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।  स्वागत संस्थाका कोषाध्यक्ष एकराज बिष्टले गरेको कार्यक्रमको सञ्चालन सचिव भूपाल बस्नेतले गरेका थिए ।  

सोही कार्यक्रमकाबिच संस्थाका संस्थापक सदस्य भूपेन्द्रप्रसाद भट्टराई र जयबहादुर गौतमलाई सम्मान गरिएको थियो । त्यस्तै ११ जना कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सम्मानीत तथा पुरस्कृत हुने कर्मचारीमा नन्ददेबी बस्नेत, हरिप्रसाद ढकाल, हरिमाया दाहाल, पुष्पलता ढुङ्गाना, ताराबहादुर राई, मञ्जु खत्री, इन्दिरा ढुङ्गाना, उमेश गणेश, गिता निरौला, उद्धव कार्की र चैतन्य अधिकारी रहेका छन् । 

karnali

कार्यक्रममा कोशी प्रदेश साँसद तथा कार्यक्रमका प्रमुख अतिथि कार्की, झापा जिल्ला सहकारी संघका सदस्य केशव बस्नेत, संस्थाका अध्यक्ष श्रेष्ठलगायतले शुभकामना मन्तब्य राखेका थिए । 

आर्थिक बर्ष २०७९/०८० सम्ममा ५३ हजार ७८१ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ४८ करोड ८० लाख २१ हजार ७०० रुपैयाँ रहेको कार्यक्रममा बितरित प्रतिवेदनमा छ । 

साकोसको बचत मौज्यात २ अर्व १८ करोड ५८ लाख ५ हजार ४७९ रुपैयाँ, जगेडा कोष १३ करोड ३८ लाख १ हजार ६७१, अन्य कोष ११ करोड ४३ लाख ९६ हजार ६ रुपैयाँ, कर्जा जोखिम कोष ६ करोड १० लाख ५७ हजार १८५, सदस्य उपचारकोष ४ करोड २० लाख ४१ हजार ३८३ रुपैयाँ, कर्जा सरक्षण कोष ६ करोड ६१ लाख १० हजार ६३१ रुपैयाँ, लगानीमा रहेको रकम ३ अर्व ७१ करोड ५२ लाख ९६ हजार ६ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा छ । 

तीनवटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाको २६ वटा पालिका अन्तरगत ४१ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ । 

कर्णाली साकोसको आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन प्रक्रिया जारी रहेको छ । निर्णय प्रमाणिकरण सभा तथा २४ औं वार्षिकोत्सवको दिन अघि नै सर्वसम्मत नेतृत्व चयन गर्ने गरी निर्वाचन कार्यक्रम बनाइए पनि आंकाक्षीहरू बीच सहमति नहुँदा सिङ्गै नेतृत्व चयन हुन नसकेको निर्वाचन अधिकृत, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले बताएका छन् ।

निर्वाचन समितिले प्रकाशन गरेको सूचना अनुसार सञ्चालक समितिको अध्यक्षमा टसबहादुर प्रधान, सचिवमा भुपाल बस्नेत र कोषाध्यक्षमा एकराज विष्ट सर्वसम्मत चयन भइसकेका छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक मनकुमार वेघा र महिला सदस्य निलम प्रधान निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले प्रकाशन गरेको सूचनामा जनाइएको छ । संस्थाको उपाध्यक्षमा गुञ्जन थापा, गणेश पराजुली र रामकुमार गौतमले मनोनयन दर्ता गरेका छन् भने केही सञ्चालक समितिका सदस्यहरू पनि सर्वसम्मत र केहीमा छलफल जारी रहेको जनाइएको छ ।

बाँकी पदाधिकारी र सदस्यहरू सर्वसम्मत हुन नसके आगामी पुष १३ गते मतदानमार्फत चयन गरिने निर्वाचन अधिकृत दाहालको भनाई छ ।