झापा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ५ स्थित तुलसीबारीमा सञ्चालित कुखुरा फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँको क्षति भएको छ । तुलसीबारीस्थित छबिलाल आचार्यको कुखुरा फर्म महेन्द्र पराजुलीले भाडामा लिएर कुकुरा पालन गर्दै आएका थिए । 

गएराती अन्दाजी ९ः२० बजेको समयमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी प्राप्त भएपछि सुरुङ्गाको टोली त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरी, बिर्तामोड नगरपालिका, कमल गाउँपालिका, शिबसताक्षी नगरपालिकाको दमकल र स्थानियबासीहरुको सहयोगमा राती १०ः४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

आगलागीबाट  सिमेन्टको पिलर, टिनको छानो, तारजाली तथा टिनको बेरा भएको अन्दाजी २ कट्ठा जग्गामा रहेको कुखुरा फर्म र फर्ममा रहेका एक हजार बोइलर कुखुराका चल्ला,  कुखुराको दाना २४० केजी, मकै ३०० के.जी, धान १० मन र अन्य  सरसामानसमेत जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले दिएको बिवरणमा छ ।  मानविय तथा चौपायको भने क्षति नभएको जनाइएको छ ।