काठमाडौं ।
अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।
यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुन सक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्व तयारीको काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् ।
उनले सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोधसमेत गरेका छन् । सरकारको प्रयासमा सार्थक हातेमालोका लागि पनि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि प्रधानमन्त्री प्रचण्डले हार्दिक अपील गरेका छन् ।