बिर्तामोड । 

झापा बिर्तामोड नगरपालिकामा सरुवा भएर  आएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आज (सोमवार) देखि कार्यभार सम्हालेका छन् ।कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड  आएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले  कार्यभार सम्हालेका हुन् ।  

प्रशासकीय अधिकृत मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रवक्ता वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य जगतबन्धु राजवंशी, निर्मला ल्वागुन लगायत जनप्रतिनिधि र कर्मचारीहरुले खदा र टिका लगाएर स्वागत गरेका थिए । 

स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कर्मचारीलाई राजनीति नगर्न र कामसँगै अनुशासनमा ध्यान पुर्याउन निर्देशन दिए। सबैले तहगत जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिँदै उनले प्रक्रियागत ढंगले आएका कामहरु कुनै पनि बहानामा नरोक्न सुझाब दिए। 

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मिश्रले विकासको काममा पर्खेर नबस्ने प्रतिवद्दता व्यक्त गरे ।जनप्रतिनिधि र प्रशासन विच नङ र मासुको सम्बन्ध हुनु पर्नेमा जोड दिँदै उनले कर्मचारीलाई कुनै समस्या भए आफुसँग आएर कुरा गर्न सुझाब दिए। दैनिक सेवा प्रवाहमा कुनै पनि समस्या हुन नहुने भन्दै उउनले यहाँका समस्यासँग आफु परिचित रहेको पनि बताए। 

यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वाले जनप्रतिनिधि र कर्मचारी समन्वय गरेर बिर्तामोडमा उदाहरणीय  ढंगले काम गर्नु पर्ने बताए। उनले कर्मचारीमा कुनै समस्या भए कार्यपालिकामा राखेर छलफल गर्नेसमेत बताए। यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बिर्तामोडको समृद्धिको लागि प्रमुख प्रशासकीयलाई पुर्णरुपमा सहयोग गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । 

प्रमुख प्रशासकीय अधिकृत मिश्रसँग यस अघि जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, अख्तियार अनुसन्धान आयोग, वाणिज्य विभाग, वीर अस्पताल लगायतका कार्यालयमा काम गरेको लामो अनुभव छ ।