• सुदीप गिरी

हल्दिबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले पालिका भवनको परिसरमा रहेको सभा हललाई ब्यस्थापन गरेर आधारभूत अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ। हल्दिबारी आधारभूत अस्पतालको भवन निर्माणाधिन अवस्थामा रहेकाले अस्थाई रुपमा उक्त स्थानमा अस्पताल सञ्चालन गरिने तयारी गरिएको हो । 

भवन निमार्णको अबधि दुई वर्ष भएकोले हाललाई पालिकाको कार्यालयको सभाहललाई नै ब्यवस्थापन गरेर अस्पताल सञ्चालन गरिने तयारी गरिएको हो।  हल्दीबारी आधारभूत अस्पतालले आधारभूत स्वास्थ्य सेवा अन्तर्गतका सबै प्याकेज लगायत स्वास्थ्य बिमा कार्यक्रमको पहिलो चरण समेत सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए । 

उनका अनुसार तल्कालका लागि तीनवटा आधारभूत स्वास्थ्य केन्द्रमा भएका कर्मचारीहरू ब्यवस्थापन गरी सेवा सञ्चालन गरिने छ ।  बिस्तारै नियम अनुसार थप जनशक्ति ब्यवस्थापन गर्दै लैजाने उनको भनाई छ ।  अहिले एक जना मृगौला रोग बिशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराईने र स्वास्थ्य बिमा कार्यक्रमको पहिलो चरण एकसाथ सञ्चालनमा आउने उनले जानकारी दिए ।

हाल सञ्चालन हुने अस्थाई अस्पतालबाट ओपिडी सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा पनि एकै साथ सञ्चालनमा आउने जनाइएको छ । बिस्तारै रेडियोलोजी सेवा, प्याथोलोजी सेवा थप गरिने भएको छ। तीन वटै स्वास्थ्य चौकीबाट उपलब्ध सेवाहरू नियमित रूपमै सञ्चालन भईरहने निरौलले बताए। आगामी ५/६ दिन भित्रमै हल्दिबारी आधारभूत अस्पताल उद्घाटन गर्ने र सेवा सुरू गर्ने अन्तिम तयारीमा रहेको उनले बताए।