सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ घर परिवारलाई आधा रुपैयाँमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको हो । 

नगरले प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण निःशुल्क र ५ घरपरिवालाई आधा पैसामा स्वास्थ्य विमा गर्ने लक्ष्यले आइतवार (आज) कनकाई वडा नम्बर ६ बाट स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । 

सो कार्यक्रम अन्तरगत वडा नम्बर ६ का १४ टोलका २८ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ५० घरपरिवारलाई स्वास्थ्य विमाको आधा शुल्कमा विमा गर्न शुरु गरिएको जनाइएको छ । 

कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकु्मार पाखरेलको प्रमुख आतिथ्य र नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाल,  नारायणप्रसाद अधिकारीको विशिष्ठ आतिथ्य रहेको थियो ।  कार्यक्रम औचित्यमाथि प्रकाश वडाध्यक्ष थापाले पारेको कार्यक्रममा स्वागत वडा सदस्य कुमारी द्रोपदा गौतम आत्रियले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कर्मचारी फडिन्द्र गिरीले गरेका थिए ।