भद्रपुर ।

 झापाको भद्रपुरमा रहेको ओम साइ पाथीभरा हस्पिटलले चौधौँ वार्षिकोत्सवको अवसरमा नयाँ सेवा थप विस्तार गरेको छ । हस्पिटलले बिश्वस्तरीय फाइबर लेजर मेसिनबाट किड्नीको ढुङ्गा, पिसाब नलीको ढुङ्गा, पिसाब थैलीको ढुङ्गा प्रोस्टेटको अप्रेसन नचिरीकन र प्वाल नपारीकन गरिने शल्यक्रिया सेवा शुरु गरेको हो।  

उक्त सेवा विस्तारसँगै बिरामीले यस्ता उपचारको लागि  धेरै खर्च  गरेर अन्यत्र जानु नपर्ने अस्पतालका अध्यक्ष दीपककुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार मेची अञ्चल कै पहिलो बिशेषज्ञ  उपचार सेवाका रुपमा  २०६६ सालबाट सुरु भएको अस्पतालले सेवा प्रारम्भसँगै आइसियु, डायलिसिस,  ल्याप्रोस्कोपिक सर्जरी, न्युरो  सर्जरी, नाक,कान घाटी,  अर्थोपेडिक सर्जरी, गाइने सर्जरी, डेण्टल सर्जरी  र विशिष्ट मेडिसिन सेवा दिँदै आएको छ ।

हाल आँखाको उपचार समेत भइरहेको छ । सबै सेवा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमबाट बिरामीले उपचार पाइरहेको छ । अस्पतालका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा युरिलोजी सर्जन डा. शशिकुमार सिंहका अनुसार यो २१ औ शताब्दीको विश्व स्तरीय लेजर प्रविधि आइआरआर्ई एस लेजर मेसिनबाट नचिरीकन कुनै प्वाल नपारी स्टोनको शल्यक्रिया गर्दा बिरामीहरू लाभान्वित हुने छन् ।