सुरुङ्गा । 

झापाको विर्तामोडको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले एक दिने  निःशुल्क आँखा शिविर गरेको छ । संस्थाको सुरूङ्गा स्थित सेवा केन्द्रको आयोजनामा कनकाई –३ को जनचेतना आधारभुत विद्यालयमा भएको आँखा शिविरबाट पाँच सय बढी स्थानीयबासीले सेवा लिएको सेवा केन्द्रका संयोजक राजेन्द्र उप्रेतीले जानकारी दिए । साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको जनाइएको छ ।  

मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा भएको थियो । आँखा परिक्षण गर्दा मोती बिन्दु देखिएका बिरामीलाई संस्थाको तर्फबाट निःशुल्क अप्रेसनका लागि रेफर गरिएको संस्थाकी अध्यक्ष देवीका निरौला बस्नेतले जानकारी दिएकी छन् । सामान्य समस्या भएका आँखाका विरामीलाई निशुल्क औषधि वितरण गरिएको छ भने विशेष छुटमा चश्मा उपलव्ध गराइएको अध्यक्ष बस्नेतले बताएकी छन् ।     

अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँलगायतले शुभकामना मन्तव्य राखेका थिए ।