दुर्गापुर । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केन्द्रको बार्षिक कार्यक्रम अन्तरगत झापाको कनकाई नगरपालिका वडा नम्बर १ स्थित दुर्गापुरमा निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा शिविर सञ्चालन गरेको हो । 

 केन्द्रको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा शुक्रवार (आज) एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको केन्द्रका कबिराज निरिक्षक टेकनाथ अर्यालले जानकारी दिए । 

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा करिब ३५ प्रकारका औषधी निःशुल्क बितरणसहित इसीजी सेवा, फिजियोथेरापी सेवा, ल्याव सेवा, पञ्चकर्म (स्नेहन स्वेदन) सेवालगायतका सेवा प्रदान गरिने कबिराज निरिक्षक अर्यालले बताए । उनका अनुसार बिशेष गरेर ग्याष्ट्रिक, बाथ, मधुमेश, दमखोकी, पायल्स, महिला रोग, मुत्र रोगलगायका ३५ बढि औषधी निःशुल्क रुपमा उपलब्ध गराइने अर्यालले बताए । 

shibir

शिविरको उद्घाटन कनकाई नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले गरेका थिए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अनिल यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत नागरिक आरोग्य सेवा केन्द्र कनकाई नगरकी प्रमुख रञ्जु रिजालले गरेकी थिइन् ।

कार्यक्रममा नगर प्रमुख पोखरेल, कनकाई नगर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम कनकाई १ का वडाध्यक्ष सुशिलकुमार पोखरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कबिराज निरिक्षक अर्यालले गरेका थिए । 

स्वास्थ्य शिविरमा डा. अनिल यादब, डा. सुरज पन्त, फिजियोथेरापी डा. सिवेन्द्रमरिक यादवलगायत अन्य प्राविधिकहरुले सहजीकरण गर्ने जनाइएको छ ।