सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर २ र ३ का तीन जना रोगीलाई आर्थिकसहित खाद्यन्न सहयोग गरिएको छ । सामाजिक ब्यक्तित्व शेरबहादुर थापाको पहलमा उनीहरुलाई बुधवार (आज) उक्त सहयोग प्रदान गरिएको हो । 

बिगत १७ बर्ष अघिदेखि इजरायल बस्दै आएकी भद्रपुर नगरपालिका वडा नम्बर १० की निर्मला कार्की थापाले उनीहरुलाई आर्थिक सहयोगसहित एक जना बिरामीलाई खाद्यन्नसमेत प्रदान गरेकी हुन् । 

ब्रेन टुमर भएर उपचाररत कनकाई–३ का १४ बर्षिय सुशन विश्वकर्मालाई नगद ८ हजार, १ बर्ष अघिदेखि प्यारालाइसिस भएर थलिएका कनकाई–३ कै ६५ बर्षिय पुन्यप्रसाद शिवाकोटीलाई नगद ७ हजार र गत दशैदेखि पेटको समस्या भएर थलिएका कनकाई–२ का ६२ बर्षिय टिकाप्रसाद मुखिया (सुनवार) लाई खाद्यन्न अन्तरगत चामल, तेल, दाल, बिस्कुटलगायतका सामाग्रीसहित नगद २ हजार एकसय रुपैयाँ निर्मालालले सहयोग गरेकी हुन् । 

तीनै जना बिरामीलाई सामाजिक ब्यक्तित्व थापासहित निर्मलाको टोलीले घरमै गएर सहयोग गरेका हुन् । आर्थिक अवस्था नाजुक भएका र रोगीहरुलाई सहयोग गर्ने मौका जुराइदिने सामाजिक ब्यक्तित्व शेरबहादुर थापालाई धन्यवाद दिदै सहयोग गर्दा आफुलाई धेरै खुसी लागेको निर्मलालले बताइन् । 

सामाजिक ब्यक्तित्व थापाले उनीहरुलाई सकेको सहयोग गर्नसमेत सवैलाई आग्रह गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा कनकाई–१ का दीपक ओली, बिर्तामोड–१ का नरेन्द्र सिलवाललगायतको उपस्थिति रहेको थियो । 

अटो रिक्सा कुदाएर परिवारको जिविकोपार्जन गर्दै आएका मुखिया हाल आर्थिक अभावका कारण रोगका साथमा घरमै बस्न बाध्य भएका छन् । दशैं अघिदेखि पेटको समस्या भएको उनको स्थानीय श्रीप्रसाद खरेल, हरि मैनाली, सोभा प्रसाई खरेलसहित कनकाई–२ का वडाध्यक्ष बलबहादुर राईको सहयोगमा ४० हजार रुपैयाँ चन्दा संकलन गरेर प्रादेशिक अस्पताल भद्रपुर लगिएको र त्यहाँ उपचार नहुने भएपछि बिराटनगरको नोबेल अस्ताल लगिएको उनीहरुको भनाई छ ।

नोबेलमा पनि आर्थिक अभाव भएपछि अहिले घरमै रोग बोकेर बस्न बाध्य भएको बताइएको छ । मुखिया परिवार बिद्यालयको १० धुर जग्गामा बस्दै आएको छ ।