मेचीनगर । 

झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरेर बनाइएका टहराहरु हटाउन शुरु गरेको छ । नगर क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग सडक खण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन शुरु गरिएको हो ।

अभियानको सुरुवातमा बुधबार डोजरको प्रयोग गरेर नगर प्रहरीसहित काँकरभिट्टादेखि कालिखोलासम्मको सडक अतिक्रमण गरी बनाइएका टहराहरु हटाइएको नगरपालिकाले जनाएको छ ।

सडक अतिक्रकण गरी बनाइएको घर टहरा खाली गराउने नगरको निर्णय अनुसार नगरपालिकाको डोजर प्रयोग गरेर आजदेखि धमाधम घर–टहरा भत्काउन थालिएको प्यारीभिटा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम घिमिरेले बताए । मेचीनगरले यस अघि सडक खाली गराउन सूचना समेत निकालेको थियो । अहिले सोहि अनुरुप सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरिएको छ । कसैले अटेर गरे त्यसलाई कानुनी कार्वाही अगाडी बढाउने जनाइएको छ ।

सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियानमा आज प्यारीभिटा बसपार्क व्यवस्थापन समिति अध्यक्ष घिमिरे, सदस्य सचिव माधव अर्या, सदस्य सुरेन्द्र बुढाथोकी, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनिधि, नगर प्रहरी, ट्राफिक प्रहरीलगायतको सहभागिता रहेको थियो ।