बिराटनगर । 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले प्रदेश स्तरिय एकिदने अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न गरेको छ । नेपाल प्रहरीको बार्षिक कार्ययोजना अनुसार शुक्रबार (आज) भएको समिक्षा गोष्ठीको उद्घाटन प्रमुख अतिथि तथा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई गरेका थिए । 

अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन विचारहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने कानूनी तथा अन्य समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साईवर कसुर अनुसन्धान सम्बन्धी नविन कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्न, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागी अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने,  विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो । 

गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले जिल्लाको समग्र बस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरु तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीको विषयमा प्रस्तुतिकरण गरेका थिए ।  उक्त गोष्ठीमा जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुका कार्यालय प्रमुख तथा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक राजन अधिकारी, नेपाल प्रदेश कार्यालय धरानका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम, नेपाल प्रहरी प्रधान कार्यालय साईवर ब्युरोका प्रहरी नायव उपरीक्षक ई। दिपेश जोशीले अपराध अनुसन्धानका बिषयमा बुदागत प्रस्तुतिकरण गरेका थिए । 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले समग्र प्रदेशको अपराधको अवस्था, प्रदेशले औल्याएका त्रुटीहरु र तालुक कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गरेका थिए । 

त्यसैगरी अपराध अनुसन्धानको प्रभावकारीता, कानुन कार्यान्वयनमा देखिएको कठिनाई, कसुरको अनुसन्धान र अभियोजनमा देखिएका चुनौती तथा अनुसन्धानकर्ता र अभियोजनकर्ता बिच समन्वय बिषयमा जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता सुभास कुमार भट्टराई, उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता नारायण बहादुर थापाले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले स्वागत गरेका थिए । 

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज कुमार यादव लगायत प्रहरी अधिकृतहरुका साथै विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी तथा  प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।