झापा ।
झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् । बिहीवार जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध ब्यूरोबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आइरहेका तीन जना ब्यक्ति मध्ये एक जनालाई पक्राउ गरिएको हो भने दुई जना भागेर फरार भएका हुन् ।
सोधबुझ गर्नका लागि उनीहरुलाई रोक्न खोज्दा दुई जना भागेर भारततर्फ गएका प्रहरीले जनाएको छ । बिर्तामोड–२ का २९ बर्षिय संजय चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बिर्तामोड–२ का अन्दाजी ३९–४० बर्षिय लोकराज राजवंशी र सोही स्थानका अन्दाजी २७–२८ बर्षिय गणेश राजवंशी फरार रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका संजय चौधरीेको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक बाहेक तिन ग्राम चार मिलीग्राम फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र फरार रहेका २ जना समेत लागू औषध ब्राउन सुगर ओसारपसार कार्यमा संलग्न हुन सक्ने भएकोले उनीहरुको समेत खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















